मलामी कुरेर - कविता [भुजङ्गप्रयात छन्द]
07-11-2025 • by Manakaji Kattel
न तारा गनेरै अहो बित्छ रात।
बिरामी छ गोडा मरेतुल्य हात।।
गयो लौ उमेरै निराशा भरेर।
बगेछन् नि धारा मलामी कुरेर।।
लडेको म एक्लै न छोरा न नाती।
न आफ्ना बिराना न मायाँ म माथि।।
म घाँडो असाध्यै म भारी बनेर।
बसेको छु व्यर्थ मलामी कुरेर।।
जिउँदै छ भन्छन् मलाई सबैले।
मरेको छ आशा नदेख्ने कसैले।।
न पस्के कसैले लु खाऊ भनेर।
नसा थाकिसक्यो मलामी कुरेर।।
जिउँथे म संसार सारा जितेर।
उनीसँग माया पिउँथे रमेर।।
बूढो हुन्छ मान्छे सकिँदो झरेर।
कतिपो अडौँला मलामी कुरेर।।